काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु भएको छ । संसद् र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक रहेको उहाले बताउनु भएको हो । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै यो काठमाडौंको एउटा चौर मात्रै नभएको बताउनुभयो । नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको र यहीँबाट धेरै राजनीतिक दल तथा नेताले आफ्नो राजनीतिक यात्रा अघि बढाएको उहाले स्मरण गर्नुभयो । ‘खुलामञ्च १० वर्षपछि खुलेको छ। यो काठमाडौंको चौर मात्रै होइन,’ थापाले भन्नुभयोे, ‘यहाँ बसेर ठूला दल बनेका छन्, यहीँबाट साना पनि बनेका छन्।’ जननायक बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले समेत यही खुलामञ्चबाट भाषण गरेको स्मरण गर्दै थापाले खुलामञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएको बताउनुभयो । ‘खुलामञ्चले मतभेदलाई एकै ठाउँमा राख्न सहयोग गर्छ,’ उहाले भन्नुभयो । थापाले अब यस्ता खुलामञ्च देशका विभिन्न ठाउँमा आवश्यक रहेको बताउनुभयो । त्यसका लागि सबैभन्दा पहिले सिंहदरबार र संसद्भित्रै खुलापन आवश्यक रहेको उहाको भनाइ थियो। ‘संसद् अहिले खुला छैन। प्रधानमन्त्रीले जनताको कुरा नसुनेसम्म खुला रहँदैन,’ उहाले भन्नुभयो । सत्तामा रहेकाहरूले जनताको प्रश्न सुन्नुपर्ने र जनतासँग संवाद गर्नुपर्ने भन्दै थापाले लोकतन्त्रमा जनताको आवाजलाई बन्द गर्न नहुने बताउनुभयो । संसद जनताको आवाज र प्रश्नको प्रतिनिधित्व गर्ने थलो भएकाले त्यसलाई थप खुला र उत्तरदायी बनाउनुपर्ने उनको भनाइ थियो ।
‘कांग्रेस हुन्थेँ हुँला, लामिछानेले भन्नुभयो ।
यस्तै कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेसका राम्रा र कमजोरी भएका विषयहरू केलाउनु भयो । आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५ औं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेस आन्तरिक विषयहरू केही केलाउनुभयो । कांग्रेसले भौतिक पूँजी भएकाहरूलाई महत्व नदिएको भए आफू समेत ‘कांग्रेस हुन्थेँ हुँला’ भनेर कांग्रेसको आन्तरिक विषय स्मरण गर्नुभयोे । साथै, उहाले सबैलाई समानुपातिक र समावेशी प्रतिनिधित्वको कुरालाई ख्याल गर्न आवश्यक रहेको बताउनुभयो । राष्ट्रियता र राष्ट्रिय मुद्दाको विषयमा राजनीतिक दलहरू एकै भएर अगाडि बढ्नुपर्ने र बढ्ने प्रतिबद्धता जनाएका छन् । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उहाले यस्तो बताएका हुन् । उहाले भन्नुभएको छ, ‘जब मुलुकको कुरा हुन्छ । जब संविधानको कुरा हुन्छ । जब संघीय लोकतान्त्रिक गणतन्त्रको कुरा आउँछ । जब जनजिविकाको कुरा आउँछ । त्यतिखेर पार्टी फरक हुँदैन, झण्डा फरक हुँदैन । नारा फरक हुँदैन । एउटै कुरा हुन्छ, मुलुक, मुलुक र मुलुक ।’ यही कुरालाई आत्मसाथ गर्दै आफू कांग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा उभिएको रास्वपा सभापति लामिछानेले बताउनुभयो ।
कांग्रेसले आफूलाई समयअनुसार रूपान्तरण गर्न सकेको छ :डा. बाबुराम भट्टराई
यस्तै पुर्र्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले आफूलाई समयअनुसार रूपान्तरण गर्न सकेको बताउनुभएको छ । देशमा संविधान जारी भएपछि लोकतन्त्रको एउटा चरण पूरा भएको र अब पुराना पार्टीका रूपान्तरण वा वैकल्पिक शक्ति आवश्यक छ भन्दै आफूले १२ वर्षअघि अभियान शुरू गरेको स्मरण गर्दै उहाँले रूपान्तरणको नारासहित कांग्रेस अघि बढेकामा खुशी व्यक्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली नागरिकको नजरमा पार्टी नेता र राजनीतिप्रति वितृष्णा कायमै रहेको बताउनुभएको छ । अध्यक्ष लिङ्देनले मान्छेमा परिवर्तन भएता पनि देशको स्थिति भने जहाँको त्यहीँ रहेको उल्लेख गर्दै देश र नागरिकका पक्षमा संविधानसमेत परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।



