बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालले दीर्घसेवा कर्मचारी तथा पुर्व कर्मचारीहरुलाई सम्मान तथा अस्पतालको बच्चा वार्ड (क्याविन भवन) को उद्घाटन लगायतका कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको हो ।

कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गर्दै आम्दाको स्वास्थ्य सेवालाई थप ब्यवस्थित र गुणस्तरीय बनाउनु पर्ने कुरामा जोड दिनुभयो । उहाँले स्वास्थ्य सेवा संवेदनशिल विषय भएको उल्लेख गर्दै बालबालिका तथा महिलाहरुको विशेषज्ञ सेवालाई महत्व दिएर स्थापना भएको आम्दाको विकास र थप गुणस्तरकालागि पालिकाले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो । उहाँले अस्पतालको विकासकालागि आम्दा नेपालले अलि गम्भिर भएर यसको स्तरवृद्धि, जनशक्ति ब्यवस्थापन र भौतिक पुर्वाधार विकासमा गम्भिरतापुर्वक सोच्न सुझाव दिनुभयो । कार्यक्रममा आम्दा नेपालका अध्यक्ष डाक्टर रोहित कुमार पोखरेलले अस्पताल स्थानीयको सहयोगमा संचालन भएको स्मरण गर्दै आम्दाले ठुलो सपना देखेको बताउँदै आम्दा मेडिकल कलेज संचालनको योजना रहेको पनि बताउनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रादेवी अर्याल, प्रशासकीय अधिकृत दिपक ज्ञवाली, आम्दाका सचिव डा. दुर्गाप्रसाद भण्डारी, समाजसेवी जीवनप्रसाद वझा, उज्वल कसजुलगायतले आम्दाको बिकासकालागि शुभकामना दिनु भएको थियो । अस्पतालका एचआर देवप्रसाद खनालको संचालन र मेट्रोन कल्पना विश्वकर्माको स्वागतमा भएको कार्यक्रममा अम्दा अस्पताल बुटवलका मेडिकल सुपरेटेन्डेन्ट डाक्टर विनोद कुमार पराजुलीले अस्पतालको भौतिक, शैक्षिक र स्वास्थ्य सेवा सुधार र गुणस्तर वृद्धिकालागि सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले एक सय वेडमा रहेको अस्पतालको स्तरवृद्धि गरि ३ सय वेडमा पुर्याउने र भौतिक तथा स्वास्थ्यक्षेत्रको जनशक्ति वृद्धि गरि यस क्षेत्रकै नमुना बाल तथा महिला अस्पताल बनाउने गरि योजना अगाडि बढाइएको बताउनुभयो ।
कार्यक्रमका अस्पतालको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालका प्रशासक खगेन्द्र क्षेत्रीले अस्पतालबाट गत एक वर्षको अवधिमा छ हजार ९४ जनाले बहिरंग (ओ.पि.डी) सेवा, १४ हजार ३६४ जनाले आकस्मिक सेवा ८ हजार ७०९ ले अन्तरंग सेवा र एक हजार २४४ ले सुरक्षित प्रसुती सेवा लिएको जानकारी दिनुभयो । उहाँले प्रतिवेदन मार्फत बुटवल उपमहानगरपालिकाको सहयोगमा अस्पतालको विस्तृत परियोजनाको डिपीआर तयारीको अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो । अस्पतालको अवसरमा बच्चा वार्ड (क्याविन भवन) को उद्घाटन गरिएको सोही कार्यक्रमको अवसर पारि एक दर्जन सेवा निवृत पुर्व कर्मचारी, दीर्घसेवी कर्मचारीहरुलाई दोसल्ला, प्रमाणपत्र र मायाको चिनोले सम्मान गरिएको थियो ।





