काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।आज (मङ्गलबार) मङ्सिर १७ गते बिहान करिब ८ः११ बजेतिर फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनाका बेला फिस्टेल एयरको हेलिकप्टरमा चालक दलका सदस्यसहित तीन जना सवार थिए । दुर्घटनामा भारतको तमिलनाडु राज्यस्थित चेन्नई निवासी अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव प्रभु एयरको हेलिकप्टरमार्फत लुक्लास्थित बिसुगार्ड ल्याइएको छ ।दुर्घटनामा घाइते हुनेमा न्युजिल्यान्ड निवासी अन्दाजी ४९ वर्षीय सेलिशकुमार पटेल, फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति र डाइनेस्टी एयरका पाइलट प्रजल केसी रहनुभएको छ ।
घाइतेमध्ये सेलिशकुमार पटेल र फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल पठाइएको छ ।त्यस्तै, डाइनेस्टी एयरका पाइलट प्रजल केसीको लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।



