बुटवल, १३ असोज । बुटवल उपमहानगरपालिका वडा न. १३ नहरपुर स्थित ज्ञानपुञ्ज इङलिस बोर्डिङ स्कुलले विद्यार्थी लक्षित आधारभूत समाचार लेखन कार्यशाला मंगलबार सम्पन्न गरेको छ । विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई समाचार लेखन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उदेश्यले कार्यशाला गरेको हो । विद्यार्थीहरुलाई व्यवहारिक सिप र लेखनसिपको विकासका लागि आधारभूत समाचार लेखन कार्यशाला गरिएको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताउनुभयो । उहाँले विद्यालयले पाठ्यक्रम मात्रै पढाएर नहुने भन्दै सृजनशिल विद्यार्थी उत्पादनका लागि कार्यशाला गरिएको बताउनुभयो ।
उहाँका अनुसार विद्यालयमा विद्यार्थीकै सृजनशिलताका लागि भित्तेपत्रिका समेत प्रकाशन सुरु गरिएको छ । सोमबार र मंगलबार गरी दुईदिन सञ्चालन भएको कार्यशालाको पत्रकार विनोद परियारले सहजीकरण गर्नु भएको थियो । । उहाँले विद्यार्थीहरुका लागि समाचारका आधारभूत सैद्धातिक ज्ञान तथा लेखनसिप सम्बन्धी व्यवहारिक अभ्यास गराउनु भएको थियो । कार्यशालामा सहभागी भएकामध्ये उत्कृष्ट विद्यार्थीहरुलाई थप तालिम दिने विद्यालयका सहप्रचार्य भिम बस्नेतले बताउनुभयो । पछिल्लो समय ज्ञानपुञ्जले विद्यार्थीहरुको सिकाईलाई फराकिलो बनाउन विभिन्न रचनात्मक कार्यक्रम तथा कार्यशाला गर्दै आइरहेको छ ।



