काठमाण्डौ, १० असोज । बंगालको खाडीमा उत्पन्न न्यून चापीय प्रणालीको प्रभाव पूर्वी नेपालमा क्रमशः कम हुँदै गए पनि पश्चिम नेपालमा भने आइतबारसम्म कायमै रहने भएको छ । मौसम विज्ञान विभागका अनुसार, विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा आज दिउँसोसम्म मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ । लगातार तीन दिनदेखिको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरोले ठूलो क्षति पु¥याएको छ भने एक जनाको ज्यान गएको छ । लगातारको वर्षापछि बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ५ मा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको ज्यान गएको छ । नारायणी नदीको बाढी पसेर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ जलमग्न भएपछि सशस्त्र प्रहरीले २९ जनाको सकुशल उद्धार गरेको छ ।
त्यस्तै, पूर्वी नवलपरासीको कावासोतीमा रहेको अमलटारी क्षेत्रमा नारायणीकै बाढी पस्दा दर्जनौँ घर डुबानमा परेका छन् । गण्डक ब्यारेजमा पानीको बहाव ३ लाख ७६ हजार ८०० क्युसेक पुगेर खतराको तह नजिक पुगेपछि ब्यारेजका सबै ढोका खोलिएका छन् ।यस्तै, सप्तरीको तिलाठी कोइलाडीमा कोशी नदीको बाढी बस्तीमा पस्दा १७ घरपरिवार विस्थापित भई कोशी बाँधमा आश्रय लिइरहेका छन् । कालीगण्डकी नदीमा बहाव बढेपछि गुल्मीको रिडीका ७ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । वर्षाका कारण भौतिक संरचनामा पनि क्षति पुगेको छ । गोरखाको सहिद लखन गाउँपालिकाको राइनस बजार नजिकै खसेको पहिरोले २५ घरधुरी उच्च जोखिममा परेका छन् । वर्षाकै कारण कास्कीको घान्द्रुकमा रहेको प्रहरी चौकीको भवनमा पहिरोले क्षति पु¥याएको छ ।सुर्खेतमा रुख र बिजुलीका पोल ढल्दा विद्युत् सेवा अवरुद्ध भएको छ । सुब्बाकुना–रामघाट र लम्की–बाबियाचौर ३३ केभी प्रसारण लाइनमा ठूलो क्षति पुगेकाले तत्काल विद्युत् सुचारु गर्न नसकिने प्राधिकरणले जनाएको छ । मौसमविद् रोजन लामिछानेले पूर्वी र पश्चिम दुवै भेगमा पहिरो र बाढीको जोखिम रहेकाले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे प्रहरीसँग बाटोको अवस्था बुझ्न आग्रह गर्नुभएको छ ।पर्सि सोमबारदेखि भने देशभर मौसममा सुधार आउने भएकाले त्यसपछि मात्र नियमित काम तथा कृषिका योजना बनाउन सुझाव दिइएको छ ।



