काठमाण्डौ, ४ असोज । भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनर्निर्माणलाई थप प्रभावकारी बनाउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई आग्रह गरेको छ । आइतबार केन्द्रीय कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकले खोज, उद्धार र राहतका काममा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको हो । बैठकमा सरकारका प्रतिनिधिले बाढीपछिको अवस्था र भइरहेका कामबारे ब्रिफिङ गरेका थिए ।
प्रवक्ता जगदीश खरेलका अनुसार बैठकले पहिचान हुन नसकेका शवको शीघ्र डीएनए परीक्षण गरी पीडित परिवारलाई राहत उपलब्ध गराउन जोड दिएको छ । साथै बेपत्ता नागरिकको अवस्था तत्काल यकिन गर्न र आवश्यक परे कानूनी व्यवस्था मिलाएर भए पनि सहजीकरण गर्न रास्वपाले आग्रह गरेको छ । गएको भदौ १० गतेको भोटेकोशी बाढीपछि स्थगित गरिएका आफ्ना पार्टी गतिविधिहरू आजैदेखि पुनः सञ्चालन गर्ने निर्णय पनि रास्वपाले गरेको छ ।



