बुटवल । सिर्जनशील संस्था नेपाल (सीन)को अध्यक्षमा बिजु पौडेल पाण्डे चयन हुनुभएको छ । संस्थाको १२औँ अधिवेशन तथा २९औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा पौडेल निर्वाचित हुनुभएको हो । ११ सदस्यीय नवनिर्वाचित समितिको उपाध्यक्षमा रिनु श्रीस, महासचिवमा कल्पना ढकाल, सचिवमा मिना खरेल र कोषाध्यक्षमा खुम कुमारी थापा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा विनोद बिसी (लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व), सुमन चौधरी, मनिषा चौधरी, स्यानीमाया थापा गाहा र लक्ष्मी अर्याल चयन भएको निर्वाचन समितिले जनाएको छ । नव निर्वाचित अध्यक्ष पौडेलले अघिल्लो कार्यसमितिले गरेका कामलाई निरन्तरतासँगै संस्थागत हित र सृजनशिल कार्यमा सक्रिय रहँदै नयाँ योजना र कार्यक्रम ल्याउने बताउनुभयो ।
साधारण सभामा संस्थाका अध्यक्ष बिजु पौडेलले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष खुमकुमारी थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षका लागि संस्थाको कार्ययोजना तथा प्राथमिकतासमेत तयार गरेको छ । संस्थाले आगामी दिनमा सामाजिक समावेशीकरण, महिला तथा लैङ्गिक समानता, मानव अधिकार र समुदाय सशक्तीकरणलगायतका क्षेत्रमा आफ्ना गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ । यसैबीच, साधारण सभाको अवसरमा संस्थाले वर्ष उत्कृष्ट कर्मचारीका रूपमा सिर्जनशील संस्था नेपालकी कार्यक्रम तथा प्रवन्धक प्रतिमा पन्थीलाई प्रशंसापत्रसहित सम्मान गरेको छ । संस्थाप्रतिको योगदान, जिम्मेवारीप्रतिको प्रतिवद्धता र कार्यसम्पादनको मूल्याङ्कन गर्दै उहाँलाई सम्मान गरिएको हो । साधारण सभाले संस्थाका विगतका गतिविधिको समीक्षा गर्दै आगामी कार्यदिशा तय गरेको थियो। नवनिर्वाचित कार्यसमितिले संस्थाको उद्देश्यअनुसार आगामी तीन वर्षमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। कार्यक्रममा कार्यवाहक उपाध्यक्ष रेनु श्रीस मगरले स्वागत गर्नुभएको थियो।



