काठमाण्डौ, १६ भदौ । भदौ १० गते बुधवार रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण तथा पुनस्र्थापनाका कामलाई प्रभावकारी बनाउन तीनै तहमा सर्वदलीय राजनीतिक संयन्त्र परिचालन गरिने भएको छ । मंगलबार सिहंदरबारमा बसेको सर्वदलीय बैठकले प्रदेश र पालिकामा समेत सर्वदलीय राजनीतिक संयन्त्र निर्माण गरी राहत तथा उद्धारमा परिचालन गर्ने निर्णय भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले जानकारी दिनुभयो ।
पुनका अनुसार बैठकले विपद्का बेला दलगत राजनीतिभन्दा माथि उठेर सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत दोहो¥याएको छ ।उहाँले राहत वितरणका लागि सरकारले एकद्वार प्रणाली अपनाए पनि पीडितसम्म राहत पुग्न नसकेको भन्दै पालिकासँग पर्याप्त समन्वय गर्नुपर्नेमा जोड दिएको बताउनुभयो ।
सांसद पुनले विपद्को उद्धार तथा राहतमा निजी क्षेत्रलाई शुरूदेखि नै सहभागी गराउनुपर्नेमा सरकारले त्यस्तो नगराएको विषयमा ध्यानाकर्षण गराइएको उल्लेख गर्नुभयो ।यस्तै सर्वदलीय बैठकमा नेपाली कांग्रेसले सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ तथा प्रविधिको सहयोग लिन सरकारसँग आग्रह गरेको छ ।कांग्रेसका केन्द्रीय सदस्य देवराज चालिसेले सरकारले उपलब्ध स्रोत साधनबाट प्रयास गर्दागर्दै पनि नसकेको अवस्थामा प्राविधिक विषयमा अन्तर्राष्ट्रिय सहयोग लिन कुनै सङ्कोच गर्न नहुने बताउनुभयो । सरकारले अन्तर्राष्ट्रिय सहयोग लिने वा नलिने विषयमा समयमै निर्णय गर्न नसक्दा उद्धारमा ढिलाइ भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘मान्छेको जीवन नै प्रधान हो । त्यस कारण उद्धारको विषयमा सरकार संवेदनशील हुनुपर्छ । राहत दोस्रो चरण हो । पुनर्निर्माण तेस्रो चौथो चरणमा जान्छ । अन्तर्राष्ट्रिय सहयोग जुटाउन कुनै लाज मान्नु पर्दैन । हामीसँग उपलब्ध स्रोत र साधनले गर्न नसकेका विषयहरूमा अन्तर्राष्ट्रिय सहयोग लिनुपर्छ ।’



