बुटवल, १६ भदौ । भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि बुटवलको स्कलर्स होम माध्यमिक विद्यालयले २ लाख १ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । विपद्को कठिन घडीमा पीडित परिवारहरूको राहत तथा उद्धार कार्यमा केही सहयोग पुगोस् भन्ने उद्देश्यका साथ विद्यालयका विद्यार्थी, शिक्षक–कर्मचारी तथा सम्पूर्ण विद्यालय परिवारको सक्रिय सहभागितामा उक्त रकम सहयोग गरिएको विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले जानकारी दिनुभयो ।
विद्यालयले गरेको सानो सहयोगले पीडितहरूको जीवनमा केही आशा र राहत थप्न सकोस् भन्ने उल्लेख गर्दै प्राचार्य बन्जाडेले अझै थप राहत रकम प्रदान गर्ने समेत प्रतिवद्धता ब्यक्त गर्नुभयो । विद्यालयले बाढीमा परी दिवंगत भएका नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको प्राचार्य बन्जाडेले बताउनुभयो ।



