बुटवल ।आम्दा नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पताल परिवार बुटवलद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा साढे तीन लाख रुपैया सहयोग गरेको छ । बाढी प्रभावितलाई सहयोग स्वरूप अस्पतालको कोषबाट २ लाख रुपैयाँ तथा अस्पतालका कर्मचारीहरूको एक दिन बराबरको तलव पारिश्रमिक बापत २ लाख ५० हजार ७८४ रुपैयाँ गरी कुल ३ लाख ५० हजार ७८४ रुपैयाँ आम्दा नेपालमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको अस्पतालले जनाएको छ ।
त्यस्तै, बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार सेवा प्रदान गर्न चिकित्सकसहित पाँच सदस्यीय स्वास्थ्य टोली पनि तयारी अवस्थामा राखिएको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँगको समन्वयमा सम्बन्धित निकायबाट आह्वान हुनेबित्तिकै टोली प्रभावित क्षेत्रमा पुगेर सेवा दिने तयारीमा रहेको समेत अस्पतालले जनाएको हो ।
बाढी प्रभावित घाइते तथा बिरामीलाई उपलब्ध स्वास्थ्य सेवामा अस्पतालले शुल्क नलिने
आम्दा नेपालले विगतमा पनि विभिन्न प्राकृतिक विपद् तथा महामारीका समयमा सक्रिय रूपमा स्वास्थ्य सेवा तथा मानवीय सहयोग गर्दै आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोदकुमार पराजुलीले जानकारी दिनुभयो । यसअघि नवलपरासीको बाढी, जाजरकोटको झाडापखालाको प्रकोप लगायतका विपद्मा समेत आम्दा नेपालले योगदान दिर्दै आएको अस्पतालका मेसु पराजुलीले बताउनुभयो । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचारको आवश्यकता पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै अस्पतालमा आउने बाढी प्रभावित घाइते तथा बिरामीलाई उपलब्ध स्वास्थ्य सेवामा शुल्क नलिने निर्णयसमेत गरिएको अस्पतालले जनाएको छ । अस्पतालले बाढी प्रभावित घाइते तथा बिरामीलाई उपचारका लागि अस्पतालमा आउन आग्रह गरेको छ ।



