बुटवल । बुटवल सुख्खानगरमा रहेको दीप बोर्डिङ हाइ स्कुल परिवारले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा छ लाख एक हजार रुपैयाँ सहयोग गरेको छ । भोटेकोसी बाढीबाट प्रभावित भएकाहरूलाई केही भए तापनि राहत मिलोस् भनेर दीप बोर्डिङ हाइ स्कुल परिवारले उक्त राहत रकम सहयोग गरेको हो । मुलुकमा आएको महाविपत्तीमा शिक्षालयकोतर्फदेखि केही भएपनि राहत मिलोस् भनेर विद्यालय परिवारबाट छ लाख एक हजार सहयोग गरिएको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले जानकारी दिनुभयो । यस दुःखद् घडीमा विद्यालय व्यवस्थापन समिति लगायत सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरूबाट स्वेच्छिक रूपमा प्राप्त सहयोग, सद्भाव र सहानुभूति सहित उक्त रकम संकलन गरि प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको प्राचार्य न्यौपानेले जानकारी दिनुभयो ।
विभिन्न समयमा भएका विपत्तीमा भुकम्प, झाडापखाला, बाढी पहिरोलगायतमा समेत दीपले सहयोग संकलन तथा अन्य सहयोग गर्दै आएको स्मरण गर्दै भोटेकोशी बाढीबाट प्रभावितहरुलाई पनि सानो सहयोग गरिएको विद्यालयले बताएको छ ।
उहाँका अनुसार विद्यालयको आफ्नै कोषबाट, शिक्षक कर्मचारीबाट र पुर्वप्राथमिक तहदेखि मावि तहका विद्यार्थीहरुबाट स्वेच्छिक रुपमा संकलन गरिएको रकम राहत कोषमा जम्मा गरिएको छ । संकलन गरिएको उक्त रकम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय सर्कुलर अनुसार प्याब्सन मार्फत नै प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी आर्थिक सहयोग गरिएको प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका प्राचार्य न्यौपानेले जानकारी दिनुभयो ।
‘यस विपत्तिमा परी जीवन गुमाउनुभएका दिवंगत आत्माहरूप्रति विद्यालय परिवारले श्रद्धाञ्जली अर्पण गरेको छ । साथै घर परिवार गुमाएका शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुमा शीघ्र स्वास्थ्यलाभ, सुरक्षित जीवनको कामना विद्यालय परिवारले गरेको प्राचार्य न्यौपानेले जानकारी दिनुभयो ।



