काठमाण्डौ, ८ भदौ । ।। नागढुंगा सुरुङमार्गमा आजदेखि ९ सिटसम्मका निजी गाडीका लागि पनि आवागमन खुला गरिएको छ । यसअघि आपतकालीन गाडीका लागि मात्र खुला रहेको सुरुङमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म कार, जिप र भ्यानलाई परीक्षणका रूपमा चल्न दिइएको हो । सुरुङमार्ग सुरक्षा युनिटका अनुसार अहिलेका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । गुर्जुधारामा रहेको फ्लाइओभर पनि सञ्चालनमा ल्याइएको छ । सुरुङभित्र अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर तोकिएको छ । सुरुङभित्र ओभरटेक गर्न र गाडी रोक्न पाइने छैन । पैदलयात्री, दुईपाङ्ग्रे तथा प्रज्वलनशील पदार्थ बोकेका गाडीलाई भने सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ । झण्डै २९ अर्ब रुपैयाँको लागतमा निर्मित २ दशमलव ६८ किलोमिटर लामो मुख्य सुरुङको गएको साउन ११ गते उद्घाटन गरिएको थियो । एक हप्ताको परीक्षण र चालकहरूको अनुभव विश्लेषणपछि अन्य गाडीलाई पनि क्रमशः प्रवेश दिइने तयारी छ । नियमित सञ्चालनमा आएपछि भने गाडीको प्रकारअनुसार निश्चित शुल्क तोकिनेछ ।



