बुटवल, ७ भदौ । विद्यालयहरूको व्यावसायिक समृद्धि, संस्थागत एकता तथा क्षमता अभिवृद्धिका लागि कर प्रणाली, श्रम ऐन तथा सामाजिक सुरक्षा कोषसम्बन्धी जानकारीमूलक तालिम आइतवार बुटवलमा भएको छ । एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन), लुम्बिनी प्रदेश समितिको आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा रूपन्देही, कपिलवस्तु र नवलपरासीका पूर्वप्राथमिक तथा प्राथमिक तहका करिब ५० जना शिक्षकहरुको सहभागी रहेको अपेनका प्रदेश कोषाध्यक्ष नितु श्रेष्ठले जानकारी दिनुभयो। तालिममा कर प्रणालीसम्बन्धी विषयमा कर अधिकृत भीमप्रसाद सापकोटा, श्रमसम्बन्धी विषयमा श्रम विभागका प्रशिक्षक होम पाण्डे तथा सामाजिक सुरक्षा कोषसम्बन्धी विषयमा केदार पौडेलले प्रशिक्षण दिनुभएको थियो । अपेन प्रदेश अध्यक्ष सरस्वती ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष अर्जुन सिंह क्षेत्रीले तालिमको उद्घाटन गर्दै तालिमका सिकेका कुरालाई ब्यवहारमा उतार्न सबैलाई आग्रह गर्नुभयो ।
सचिव लक्ष्मी पोखरेल भुसालले संचालन गर्नु भएको कार्यक्रममा केन्द्रीय सदस्य तारा पन्त, प्रदेश उपाध्यक्ष केशव पाठक, सल्लाहकार निलकण्ठ पंगेनीलगायतले विद्यालय ब्यवस्थापनकालागि तालिम फलदायी भएकाले यसको सदुपयोग गर्नु पर्ने बताउनुभयो । तालिमले विद्यालय सञ्चालन, करसम्बन्धी दायित्व, श्रमिकका अधिकार तथा सामाजिक सुरक्षा कोषबारे विद्यालय शिक्षक, प्रिन्सिपल तथा विद्यालय प्रतिनिधिहरूलाई व्यवहारिक जानकारी प्रदान गरेको कार्यक्रमका संयोजक प्रदेश सदस्य रमेश न्यौपानेले जानकारी दिनुभयो । विद्यालयको संस्थागत व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै सञ्चालक तथा कर्मचारीबीचको सम्बन्ध सुदृढ गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाइ छ ।



